हाम्रो सिस्टमभित्र थुप्रै खोटहहरु छन् – प्रचण्ड
१३ जेठ काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ अभियान, अनुसन्धान र नयाँ आविष्कारको खोजीमा सबै लागे मात्रै समाज र राष्ट्रलाई केही दिन सकिने र समाज रुपान्तरण गर्न सकिने बताएका छन्।
शुक्रबार २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। अध्यक्ष प्रचण्डले निकै राम्रो समाज र राज्य बनाउने चाहाना राखेपनि दिनदिनैको कामकारवाही भनाइसँग तालमेल नहुने बताए।
उनले कही न कहि हाम्रो सिस्टमभित्र थुप्रै खोटहरू रहेको भन्दै समाज रुपान्तरण र क्रान्तिकारी बाटोमा जानुको साटो दिग्भ्रम र विचलनतिर गइरहेको र त्यो क्रम बढ्दो रहेको बताए।
प्रचण्डले भने, ‘कहीँ न कहीँ हाम्रो सिस्टमभित्र थुप्रै खोटहरू छन्। जसले गर्दा समाज रुपान्तरण क्रान्तिकारी ढंगले होइन दिग्भ्रम र विचलनतिर गइरहेको छ र त्यो क्रम अझ बढ्दो छ।’
त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिवद्ध भएमात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने पनि प्रचण्डले बताए। उनले सेनसँगका सहकार्यका स्मृति आफूसँग अझै ताजै रहेको भन्दै तपस्या र साधनामा केही कमी नभएका सेनमा बलिदानको उच्च भावना पनि रहेको बताए।