गणतन्त्रको सुदृढीकरणमा एकताबद्ध हुन प्रचण्डको अपिल


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १५ २०७९
7.6K
SHARES

१५ जेठ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिल गरेका छन् ।

गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन आग्रह गरे । परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्पका रुपमा प्रस्तुत भएको उनको भनाइ छ ।

नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनीतिक विचार र प्रवृतिहरुबीच सङ्घर्ष, सहकार्य र रुपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले कठिन मोडमा वाम–लोकतान्त्रिक शक्ति एक हुँदै आएको बताए ।

आजको दिन नेपाली जनताको सदियौँदेखिको सङ्घर्षको परिणामस्वरुप निरङ्कुश सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिन हो भन्दै अध्यक्ष दाहालले नेपाली समाजको अग्रगामी परिवर्तनको यस अभियानकै क्रममा संविधानसभाबाट संविधान निर्माण गरी मुलुक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए ।

संविधान कार्यान्वयनका क्रममा देखापरेका अलोकतान्त्रिक, असंवैधानिक र निरङ्कुश प्रवृतिलाई पनि सङ्र्घषकै बलमा पराजित गरेर यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने क्रममा देशव्यापीरुपमा एकैसाथ उत्साहजनकरुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको बताए ।

निर्वाचनमा जीतहार भन्दा पनि संविधान कार्यान्वयन गर्ने र लोकतन्त्रलाई समृद्ध बनाउने अग्रगमनको प्रक्रिया विजयी बनेकामा आफूहरु हर्षित रहेको जनाउँदै उनले यस अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आभार प्रकट गरेका छन् । रासस