निजगढ विमानस्थल नबनोस् भनेर ठूलो षडयन्त्र छ – अध्यक्ष नेपाल
१६ जेठ काठमाडौं। नेकपा एकीकृत समाजवदीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन नदिनका लागि षडयन्त्र भएको बताएका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकमा नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताए।
सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेपछि आज समितिले छलफल आयोजना गरेको थियो। छलफलमा सहभागी नेता नेपालले राज्यका कुनै पनि निकाय विकासको बाधक बन्न नहुने बताए। उनले निजगढमा विमानस्थल निर्माण नगर्नु भनेर सर्वोच्च अदालतले गरेको फैसलाले आफूलाई दुःखित तुल्याएको बताए।
‘विकासको सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन,’ नेपालले भने, ‘त्यो निर्णय दु:खद हो। त्यो निर्णय नेपालको विकासको बाधकको रूपमा ठहरिनेछ। मलाई स्तब्ध बनाएको छ। निजगढ विमानस्थल निर्माण नबनोस् भनेर ठूलो षडयन्त्र छ।’
उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी नभइकन बनाउन नहुने भन्ने निर्णय गरिएको टिप्पणी गरे। ‘जुन ठाउँमा सोचिएको छ, त्यहाँ बनाउनु हुँदैन भन्ने निर्णय नै यथार्थ स्थितिको जानकारी नभइकन गरिएको छ,’ उनले भने। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनिएको र रनवे निर्माण गर्ने स्थानमा वन नरहेको नेपालको भनाइ छ।
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भनिएको ठाउँबाट सार्न नमिल्ने नेपालको भनाइ थियो। उनले त्यहाँभन्दा दक्षिणमा बाक्लो वबस्ती भएकाले सम्भव नभएको बताए।