मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन हुन्छ – सम्मानित नेता खनाल


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ २३ २०७९
2.6K
SHARES

२३ जेठ काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमतिअनुरुप नै पार्टीका मन्त्रीहरूलाई फेरबदल गर्न लागेको बताएका छन्। सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए।

आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरू कुनै तागतले रोक्न गर्न नसक्ने उनको भनाइ छ। उनले ६ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्‌मा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पारे। उनले मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन हुने बताए।

उनले भने, ‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा हो। अरूले गर्ने होइन। हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा (एकीकृत समाजवादी)ले गर्छ। यो धर्तीका अरू कुनै तागतले गर्ने कुरा होइन।’

खनालले थपे, ‘हामीले पहिले नै सहमति त्यस्तै गरेका थियौं। ६ महिनासम्म एउटा टिमलाई दिने। त्यसपछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो। त्यहीअनुसार हामीले गरेको हो। हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो। कमिटीले निर्णय गर्छ। त्यसलाई पालना गर्नुपर्छ। हाम्रो पार्टीमा लाखौं सदस्यहरू हुनुहुन्छ। लाखौं सदस्यहरू भए पनि कमिटीहरूले निर्णय गर्छन्। त्यसलाई हामी सबैले पालना गर्छौं। पद्धति नै त्यही हो नि।’