बिहीबार सम्ममा मन्त्रीहरुको शपथ हुन्छ – मेटमणि चौधरी
२५ जेठ काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन् ।
जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको शपथग्रहण रोकिएको उनको भनाइ छ । सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने पनि बताए । उनले भने, ‘पार्टीले निर्णय ग¥यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर आज हामी पाँच दलिय गठबन्धन भित्रकै एउटा दल हो । एउटा पार्टी हो । हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरी जसपाका साथीहरुले केही दिन हामीलाई पनि पार्टी भित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही समय केहीदिन ढिला मात्रै भएको हो । मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने सपथग्रहण भोलि पक्कै हुन्छ ।’