ओलीको प्रश्न– कसले दियो प्रधानमन्त्रीको अफर ?
२७ जेठ विराटनगर । स्थानीय तहमा प्राप्त सिटको मामलामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही कम भएपनि कांग्रेसभन्दा थोरै मात्र पछि परेको बताएका छन् । मोरङका स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन विराटनगरमा आयोजित कार्यक्रममा ओलीले गठबन्धन सरकारले देशलाई निकास दिन नसक्ने जिकिर गरे । गठबन्धनको चिन्ता नगर्न र यसको सामना गर्ने आफूहरुसँग ताकत भएको सुनाए ।
थालमा अनेक प्रकारका जुठा गाँस परेजस्तो नभएर एमालेले स्थानीय तहको निर्वाचनमा आफ्नो लोकप्रिय अनि शुद्ध मत प्राप्त गरेको बताउँदै भने,“हाम्रो मत अनेक प्रकारका जुठा गाँस थालमा परेको जस्तो होइन । हाम्रो लोकप्रिय मत हो । आगामी दिनको लागि हामीले हाम्रो अभियान शुरु गरिसकेका छौं । एमाले प्रदेशमा सबैभन्दा ठूलो छ । अरुको दुई चार भोटले फरक परेको होला तर सँधै एमाले पहिलो हो ।” उनले संघीय संसदमा पनि एमाले नै अगाडि रहेको र प्रचण्डले भने जस्तो जनतालाई थर्काएर, बुथ कब्जा गरेर, मत लुटेर नभई मत जितेर मत लिनुपर्नेमा ध्यान दिनुपर्ने बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै उनले ‘कांगे्रेसले घमण्ड नगरोस् एमालेको जस्तै हालत बनाईदिन्छु भन्दै गरेको टिप्पणीप्रति ओलीले भने,“ती नेताको उचाई कति रहेछ भनेको कम्मर कम्मरभन्दा अलि तल नै रहेछ । आफ्नै हालत घुँडा घुँडा छ तिनले के गर्छन होला । एमाले जस्तो बनाई दिन्छु अरे । देशको सबैभन्दा ठूलो बनाई दिन पाए तिनले के खोज्थे होला । ”
अरु पार्टीसँग तुलनै गर्न नसक्ने गरी एमाले अघि बढेको र यही पार्टी राष्ट्रियता जोगाउने पार्टीको रुपमा स्थापित भएको दाबी गरेका छन । ओलीले समय आएपछि कसलाई कहाँ र कुन फाँटमा जिम्मेवारी दिने भन्ने पार्टीले निर्णय गर्ने र विवाद गर्न नहुने बताए । उनले देशभरका मेयर तथा उपमेयरहरुलाई काठमाडौंमा प्रशिक्षण आयोजना गरिने र त्यसमा विकास कसरी अघि बढाउने, जिम्मेवारी के, जनतामाझ कसरी पुग्ने स्थानीय तहमा कर्तव्य कसरी पूरा गर्ने जस्ता विषय केन्द्रित हुने बताए ।
उनले भने,“एउटै पार्टी फुट्छ, हिजो देउवा फुट्नु भयो, माधव नेपाल आफैं हिंड्नु भएको होइन । प्रचण्ड पनि त्यस्तै होइन । यस्तो बनाई दिन्छु उस्तो बनाई दिन्छु भनेको घुर्की लगाएको होइन,” प्रधानमन्त्रीको अफर आएको भन्ने विषयमा कसले दियो भन्दै ओलीले प्रश्न गरे ।