नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाउन पाइँदैन – सांसद ज्ञवाली


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २९ २०७९
2.4K
SHARES

२९ जेठ काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे विभिन्न शंकाउपशंका उब्जिएको भन्दै संसदमा जानकारी गराउन माग गरेका हुन्।

उनले भ्रमण राजकीय हो वा के हो जानकारी दिनुपर्ने माग गरे। ज्ञवालीले देउवा रक्षामन्त्री वा प्रधानमन्त्री कुन हैसियतमा अमेरिका जान लागेको हो त्यसबारे स्पष्ट हुनुपर्ने जिकिर गरे। उनले भने, ‘प्रधानमन्त्रीको यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको ? यसबारे सदनले थाहा पाउन जरुरी छ।’

सांसद ज्ञवालीले यस्तो महत्त्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरेको पनि आरोप लगाए। ‘प्रतिपक्ष त बेखबर नै छ। प्रतिपक्षीलाई जानकारी दिने, छलफल गर्ने लगायतका बारेमा जानकारी छैन। अमेरिकाको भ्रमण के हो भन्ने विषयमा हामीलाई जानकारी नै छैन। त्यहाँ केही समझदारी हुँदै छन् कि के हो,’ उनले भने, ‘बाहिर आइरहेका जस्तो कुरा हो भने प्रधानमन्त्री आएर सदनमा जानकारी दिनुपर्छ।’

सरकारका पछिल्ला गतिविधि नेपाललाई भूराजनीतिक द्वन्द्वको थलो बनाउने खालका भएको उनले आरोप लगाए। ज्ञवालीले भने, ‘नेपालको परराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्नता, पञ्चशील नीति र विश्व शान्तिका मूल मान्यतामा आधारित छ। नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा हाम्रो परराष्ट्र सम्बन्धको मूल आधार हो। यससँग बाझिने गरी नेपालमा कुनै खालका चाहे त्यो तालिमका नाममा होस् या अरू कुनै नाममा विदेशी सेनाको उपस्थिति, त्यस खालका गतिविधिहरू नेपालको संविधानले अनुमति दिँदैन। तर, बाहिर आएका हल्लाहरूले केही गम्भीर प्रश्न उठाइरहेका छन्।’