एमाले सचिवालय बैठक बस्दै : यी चार एजेन्डामा हुँदैछ छलफल
३० जेठ काठमाडौं। सोमबार नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ। स्थानीय तहको निर्वाचनको समीक्षा गर्न निर्वाचनपछि पहिलोपटक एमालेको औपचारिक रूपमा सचिवालय बैठक बस्न लागेको हो। आजको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा महासचिवको नेतृत्वमा रहेको केन्द्रीय कार्यालयको बैठकले चार एजेन्डा तय गरेको छ।महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले मुख्य चार एजेन्डा तय गरेको हो।
सोमबार बस्ने सचिवालय बैठकका लागि तय गरिएका अजेन्डामा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावको कार्ययोजना, पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि प्रशिक्षण र विभाग गठन रहेका छन्। अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरेको भए पनि सोमबार बस्ने सचिवालय बैठकमा त्यसबारे कुनै एजेन्डा राखिएको छैन।