प्रधानमन्त्री देउवासँग लोसपाका शीर्ष नेताहरूको भेट


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ ३० २०७९
4.1K
SHARES

३० जेठ काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। लोसपा अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतका नेताहरूले आफ्ना माग ध्यानाकर्षण गराउन आज पनि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

बालुवाटारमा भएको भेटमा लोसपाका नेताहरूले नागरिकता विधेयक तत्काल पारित गर्न देउवासँग आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले संसदमा छलफल भइरहेको बजेटमाथि उठेका प्रश्नको जवाफ दिएलगत्तै नागरिकता विधेयक ल्याउने आश्वासन दिएको लोसपा नेताहरूले बताएका छन्।

नागरिकता विधेयकलगायत विभिन्न ११ बुँदे मागसहितको ज्ञापन पत्र गत मंगलवार लोसपाले देउवालाई बुझाएका थिए। ‘संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाण पत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धि हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिने,’ लोसपाले यसअघि बुझाएको ज्ञापन पत्रको पहिलो बुँदामा भनिएको छ।

त्यस्तै, लोसपा नेताहरूले आर्थिक वर्ष २०७९/०८० को बजेट समावेशी नभएको गुनासो प्रधानमन्त्रीसमक्ष राखेका छन्। साथै जेल जीवन बिताइरहेका नेता रेशम चौधरीलाई कारागारमुक्त गराउन पनि उनीहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। लोसपाले सरकारमा सहभागी हुने बाटो खोजिरहेको बताइन्छ। तर नेताहरू भने प्रधानमन्त्रीसँग सरकारमा सहभागी हुनेबारे कुनै कुराकानी नभएको दाबी गरिरहेका छन्।