मन्त्री ओलीले दिइन् यस्तो बयान
१ असार बुटवल । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला कुमारी खत्री (वली)ले आफूलाई नियोजित तरिकाले फसाउन खोजेको बताएकी छिन् ।
पैसाको कारोबार मिलाउने क्रममा एकराज सम्पर्कमा नआएपछि उनको घर गएको बेला परिवारका सदस्यहरुले फसाउन खोजेको उनको भनाई छ ।
हिजो बिहान दाङको तुलसीपुर ५ बसपार्क स्थित वाइसिएल नेता एकराज बस्नेतको घर गएर निजकी श्रीमती र छोरीमाथि कुटपिट गरेको घटना भाइरल बनेको थियो । विमलाले भने आफूले कुटपीट नगरेको उल्टै चुकुल लगाएर आफूमाथि हातपात भएको बताइन ।
नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार, ओलीले आफू एकराजसँग भएको पैसाको कारोबार मिलाउन गएको बेला आफूलाई नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपन्च गरेको आरोप लगाएकी छिन् ।
उनका अनुसार वाइसिएल नेता एकराज बस्नेतसँग पैसाको कारोबार थियो । त्यो कारोवार मिलाउनका लागि एकराजसँग एक हप्तादेखि छलफल भइरहेको थियो । फोनमा कुरा भएपनि एक हप्तादेखि सम्पर्कमा नभएपछि विमला घरमै जान बाध्य भइन ।‘एकराजले मेरो पैसा सापटी लिएको, त्यही पैसाको कारोवारका लागि म घर गएकी थिएँ’,उनले भनेकी छिन्, फोनमा त कुरा भइरहेको थियो, तर, एक हप्तादेखि भेट हुन सकेको थिएन ।’
समाचार अनुसार, एकराजलाई भेटाउन नसकेपछि उनले एकराज खोई भनेर सोधेको तर एकराजको श्रीमतीले जेठाजु बीरेन्द्र बस्नेतलाई बोलाएकी थिइन । समाचारमा विमलाको भनाई छः
जेठाजु बीरेन्द्र बस्नेतसहित घर परिवार र छिमेकी आए । उनीहरु आएपछि भित्रबाट घरको गेटमा चुक्कुल लगाए । चुक्कुल लगाएपछि बीरेन्द्रले आफूलाई गालीगलौज गरेको बताएकी छिन् ।‘विरेन्द्र आएपछि भित्रबाट चुक्कुल लगाए, त्यसपछि नानाथरी गालीगलौज गरे, अपशब्द बोले, एक पटक विरेन्द्र पिट्न पनि उठेक थिए, त्यतिबेला, पिएसओ र मीनाका ससुरा वुवाले छेकेपछि पिट्नबाट रोकिए । त्यतिेबला उल्टै मलाई एक करोड हिनामिना गरेको, सुन चोरेकोसम्मको आरोप पनि लगाए ।’
एकराजकी श्रीमती र आफूबीच तानातान हुँदा आफ्नो पनि चुरा फुटेको समाचारमा उल्लेख छ । उनले आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको भएपनि त्यहाँ चुकुल लगाएर मान्छे बोलाएर विवाद चर्काएको विमलाको आरोप रहेको नयाँ पत्रिकाले उल्लेख गरेको छ ।
विमलालाई दांगबाट बुटवल लगिएको छ । एकराजकी श्रीमतीले भने उनीविरुद्ध किटानी जाहेरी दिएकी छिन् । आज लुम्बिनी सरकारले बजेट पारित गर्ने भएकोले सम्भवतः त्यसकै लागि विमलालाई बुटवल लगिएको बुझिएको छ । केही मिडियाले भने प्रदेश सरकारको अनुरोधमा प्रहरीले उनलाई बुटवल लगेको बताएका छन् ।