ओलीले कुल्ला गर्दा खाँटी कार्यकर्ताले बान्ता गर्छन् – नेता भुसाल


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १ २०७९
2.8K
SHARES

१ असार काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीका नेताहरूको भाषाशैलीप्रति कटाक्ष गरेका छन् । बुधबार काठमाडौंमा आयोजित कम्युनिस्ट आन्दोलन र अबको बाटो कार्यक्रममा उनले शीर्ष नेताहरूले कार्यकर्ताहरूलाई पनि सोहीअनुसारेको बनाउँदै लगेको बताए ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको ‘पत्तासाफ गर्छौं’ भन्नासाथ माओवादीका नेताहरू लाठी लिएर उत्रिने बताए ।  त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधकुमार नेपालले एमालेलाई ‘धुलो चटाइदिन्छौँ’ भन्दा कार्यकर्ताहरू अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाउन लागिपर्ने बताए ।

त्यसैगरी एमाले अध्यक्ष ओलीले कुल्ला गर्दा कार्यकर्ताले बान्ता नगर्दा योग्यता पुग्दैन भन्दै कटाक्ष गरे । भुसालले भने, “कमरेड ओलीले माधव नेपालको नाम लिँदा कुल्ला गर्नुहुन्छ । कार्यकर्ताले वान्ता गर्छन् । कार्यकर्ताले बान्ता गर्नैपर्छ, त्यति नगरे खाँटी कार्यकर्ताको योग्यता नै पुग्दैन,” उनले भने ।

उनले कम्युनिस्ट पार्टी फुट्दा कान्लाबाट लडेको र अब भिरबाटै खस्ने बताइने गरेको बताए ।  “अहिले त कान्लाबाट खसेको हो । भिरबाट खस्न बाँकी छ भन्छन् साथीहरू,” उनले भने, “अझ धेरै सम्भावना छ । समाधानहीन ठाउँमा कम्युनिस्ट आन्दोलन पुगेको छैन ।” उनले कम्युनिस्टहरूबीच एकता वा सत्यानशमध्ये एक बाटो भएको बताए ।