भरतपुरको विकासका लागि युवासँग सहकार्य गर्छौं – रेनु दाहाल
२ असार चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको विकासमा युवा उद्यमीसँग सहकार्य गर्न भरतपुर महानगरपालिका तयार रहेको बताएकी छन्। नेपाली युवा उद्यमी मञ्च चितवन शाखाले बुधबार भरतपुरमा आयोजना गरेको उद्यमशील सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले सो कुरा औँल्याइन्।
मेयर दाहालले विगतमा महानगरपालिका र निजी क्षेत्रबीच सहकार्य भएर केही पूर्वाधार विकास निर्माणको काम भएको उल्लेख गरिन्। ‘निजी क्षेत्रसँग सधैँ हातेमालो गर्न तयार छौं,’ उनले भनिन्, ‘महानगरपालिका एक्लै हिँडेर यहाँको विकास हुँदैन। निजी क्षेत्रसँग सहकार्य गर्न महानगर सधैँ सकारात्मक छ।’
चितवनमा रहेका निजी क्षेत्रको सहकार्यमा लाईन्सचोकमा बहुउद्देश्यीय व्यापारिक भवन, नारायणी नदीमा पूर्वाधार विकासका कामहरू भइरहेका छन्। मेयर दाहालले निर्वाचनको घोषणापत्रमा ‘मेड इन भरतपुर’ कार्यक्रमलाई प्राथमिकतामा राखिएकाले यस कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च चितवनले सहकार्य गर्न सक्ने उल्लेख गरिन्।
अन्तरक्रियामा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले गर्ने आर्थिक सम्बन्धी कार्यक्रममा नेपाली युवा उद्यमी मञ्चलाई समावेश गराइने बताए। त्यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने गरी सबै पक्ष हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए।