पूर्व माओवादीहरूको नयाँ एकता हुँदै छ – प्रचण्ड
५ असार काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्वमाओवादीहरूको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वमाओवादीहरूको नयाँ एकताको शृंखला नजिकिएको बताएका हुन् ।
अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने जिकिर उनले गरे । “हामी केही समयदेखि एकता र विभाजनको जे शृंखला पार गरेर यहाँ आइपुगेका छौँ, अहिले । हाम्रो माओवादी आन्दोलनभित्र पनि विभाजनको एउटा शृंखला र एकताको नयाँ प्रक्रिया हुँदै अब करिब–करिब कस्तो ठाउँमा आइपुगेका छौँ भने सबै पूर्वमाओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण भएको छ,” उनले भने, “अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदै छ । छिटै त्यो टुंगोमा पुग्दै छ । त्यसको असर विभिन्न जनसंगठनहरूमा पनि पर्नु स्वाभाविक हो, पर्छ । मलाई लाग्छ, कर्मचारीभित्र पनि विस्तारै बाँकी रहेका साथीहरू एकीकृत हुने अवस्था बन्छ ।”