रवि लामिछानेको पार्टीको नाम– राष्ट्रिय स्वतन्त्र पार्टी


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ७ २०७९
1.8K
SHARES

७ असार काठमाडौं। पत्रकारिता छाडेर राजनीतिमा होमिएका पत्रकार रवि लामिछानेले व्यवस्था बदल्न नभई अवस्था बदल्न राजनीतिमा लागेको बताएका छन्। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित पार्टी घोषणा सभामा उनले व्यवस्था परिवर्तनको मुद्दा नलिइएको बताए। पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । उनले एक कार्यक्रममार्फत पार्टीको नाम घोषणा गरेका छन् ।

लामिछानेले अरू दलसँग पनि छलफल गरेको भए पनि आफू आशावादी नभएको बताए। त्यसैले व्यवस्था परिवर्तनको मुद्दा आफ्नो नभएको उनको भनाइ छ। ‘व्यवस्था परिवर्तन गर्न आएको होइन। व्यवस्था बदल्नु छैन। अवस्था बदल्नु छ,’ लामिछानेले भने। टिभीमा रहेर आवाज उठाउँदा राजनीतिक दलहरू नसुध्रिएको उनको भनाइ छ।

‘राजनीतिक दललाई सुध्र, सुध्र, सुध्र, सप्र, सप्र सप्र भनेर भनिरहेँ। तर, उनीहरू सप्रेनन्। सप्रने संकेत पनि देखाएनन्,’ उनले भने, ‘जनमत गुमाउँदा गुमाउँदै पनि एउटाले अर्कोसँग गठबन्धन गरेर सत्ता हासिल गर्ने प्रपञ्च गरिहे। विश्वास गर्नुस्, यो देशमा मैले जति रोएको मान्छे कसैले देखेको छैन।’

लामिछानेले अरू राजनीतिक दलसँग पनि यसअघि आफूले छलफल गरेको भए पनि उनीहरूसँग सहकार्य नभएको जानकारी दिए। लामिछानेले आफू अहिलेसम्म दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने घोषणा समेत गरेका छन्। ‘दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिन, राजनीतिक दलभित्र राम्रा मान्छे नभएका होइनन्। आफ्ना पार्टी भित्र आलोचना गर्न पर्खेर बसे। सबैभन्दा ठूलो नेताको मृत्यु भएपछि ठूलो ठाउँमा पुग्छु भनेर बस्दै,’ उनले भने।