प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्यो – वामदेव गौतम


Capital Headline
प्रकाशित मिति : शनिबार, असार ११ २०७९
2.9K
SHARES

११ असार काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाएका छन् । शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि ओलीले अविश्वास प्रस्ताव प्रस्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताए ।

गौतमले कम्युनिष्ट एकताकै लागि आफू कुनै समूहमा नलागेको पनि बताए । उनले वामदेवका कारण पार्टी विभाजित भयो भन्ने कुरा केही हदसम्म सत्य रहेकाले आत्मलोचना गरेको बताए ।  उनले त्यो बेला अध्यक्ष दाहालको समूहमा नगइ बीचमा बसेर मध्यस्थता गर्न सकेको भए कुनै हालतमा पार्टी विभाजन नहुने स्मरण गरे ।

“धेरैजसोले वामदेवकै कारणले पार्टी विभाजन भयो भने । मैले पनि गल्ती गरेकै हो । मैले पार्टीभित्र उत्पन्न भएको समूह यो वा त्योमा नलागिकन बीचमा बसेर त्यहाँभित्र प्रयत्न गरेको भए पार्टी फुट्ने थिएन । म मात्रै होइन, पार्टी फुटबाट बचाउन सचिवालयका ९ जना सदस्यहरु उत्तिकै जिम्मेवार हुनुहुन्छ,” उनले भने, “माधव, झलनाथ, केपी ओलीले नै गर्न सक्नुहुन्थ्यो । ईश्वर पोखरेल, विष्णु पौडेल, नारायणकाजीले गर्न सक्नुहुन्थ्यो । जब अविश्वासको प्रश्ताव राख्ने गरी साथीहरु आए, म प्रचण्डजीको समूहमा थिएँ । उहाँहरुले अविश्वासको प्रश्ताव राख्ने गरेर गएपछि म त्यो समूहबाट पनि निस्किएँ ।”

राष्ट्रिय सभा सदस्य गौतमले तत्कालीन अध्यक्ष दाहालले ओलीप्रति लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको तर्क गरे । उनले ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये प्रधानमन्त्री पद छोड्न तयार भइसकेको अवस्थामा पनि प्रचण्डले ओलीमाथि लगाएका आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको बताए । उनले अन्तिम बैठकमा अध्यक्ष दाहालले आफूलाई नै सबै दोष दिएपछि आफू मौन बसेको बताए ।