एमालेसँग तालमेल गर्न एकीकृत समाजवादीले राख्यो यस्तो शर्त


Capital Headline
प्रकाशित मिति : शनिबार, असार ११ २०७९
3.7K
SHARES

११ असार काठमाडौ ।नेकपा एकीकृत समाजवादीले एमालेसँग तालमेल तथा वामपन्थी एकताका लागि विभिन्न शर्त अघि सारेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनका पाँच दलबाहेकका दलसँग पनि सहकार्य गर्ने निर्णय गरेको हो। पार्टीको उच्च प्राथमिकता सबैसँग सहकार्य गर्ने भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

‘सबै दलसँग सहकार्य गर्न तयार छौं। पाँच दलीय गठबन्धनबाहिरका दलसँग पनि खुला छलफल गर्छौं,’ प्रवक्ता खतिवडाले भने।

प्रवक्ता खतिवडाले देशभक्त वामपन्थीसँग सहकार्यको सम्भावना रहेको पार्टी ठहर गरेको बताए। यसबारेमा छलफल अगाडि बढाउने पार्टीको योजना रहेको उनले सुनाए। ‘देशभक्त, वामपन्थी र लोकतन्त्रको नयाँ ध्रुव सिर्जना गर्न हाम्रो पहलकदमीमा अघि बढ्न सक्छौं भन्ने कुरा भएको छ,’ प्रवक्ता खतिवडाले भने।

एमालेसँग शर्त

एकीकृत समाजवादीले नेकपा एमालेसँग पनि सहकार्यका लागि आफूलाई खुला राखेको छ। तर केही शर्तहरुसमेत अघि सारेको छ।

सम्मानित नेता झलनाथ खनालले एमालेसँग एकताका लागि चासो देखाएका बेला पार्टीले पनि एमालेसँग सहकार्यका लागि आफूलाई खुला राखेको हो।

एमालेबाटै फुटेर बनेको समाजवादीले तालमेल तथा एकताका लागि विभिन्न शर्तहरु तेर्स्याएको हो। जसमा पहिलो शर्त हो, दलको मान्यता दिएर अस्तित्व स्वीकार गर्नु।

‘पहिलो त एमालेले हामीलाई राजनीतिक दलको दर्जा दिएको छैन। पार्टी मानेको छैन,’ प्रवक्ता खतिवडा भन्छन्, ‘कानुनी र राजनीतिक ढंगले एमालेले एकीकृत समाजवादीलाई दलको मान्यता दिँदैन, अस्तित्व स्वीकार्दैन भने कुनै सम्वाद हुँदैन। एमालेलाई एकता एकीकृत समाजवादी चाहिएको छ भन्ने लागेको छ, सँगै चिया खानुपर्छ भन्ने लागेको छ भने त्यसबेला मात्रै राजनीतिक चियपान सम्भव छ।’

एकीकृत समाजवादीको दोस्रो शर्त एकीकृत समाजवादीविरुद्ध अदालत दिएको मुद्दा एमालेले फिर्ता लिनुपर्ने रहेको छ। ‘एमालेले हामीलाई अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएर यो राजनीतिक दल हो, मान्छु भन्ने निर्णयहरु गरेर आउनुपर्‍यो,’ प्रवक्ता खतिवडाले भने।

त्यसैगरी पार्टी एकताका लागि संसद विघटनलगायत विषयहरुमा आत्मालोचना गरेर प्रष्ट रुपमा आउनुपर्ने अर्को शर्त छ। ‘थप अगाडि बढ्ने हो भने संसद विघटनलगायतका हर्कतहरुबारे प्रस्ट धारणा आउनुपर्‍यो,’ उनले भने।

प्रवक्ता खतिवडाले राजनीतिक अस्तित्वको स्वीकार्यता नभई राजनीतिक सहकार्य नहुने बताए। ‘अहिले यतिखेर एमालेसँग सम्वाद हाम्रो एजेण्डामा छैन,’ उनले भने। पारस्परिक लाभका आधारमा तालमेल वा गठबन्धन गर्न आफूहरु तयार रहेको प्रवक्ता खतिवडाको भनाइ छ।