मैले राजीनामा दिइसकेँ – प्रेम आले
१२ असार काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफूले पदबाट राजीनामा दिएको बताएका छन् । आज संसद् बैठकबाट बाहिरिनेक्रममा सञ्चारकर्मीहरूसँग उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएको बताए । नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा रहेका अरू मन्त्रीहरूले राजीनामा दिए/नदिएको बारे भने आफूलाई जानकारी नभएको उनले बताए । “अरू मन्त्रीहरूको मलाई थाहा छैन । उहाँहरूलाई नै सोध्नुहोला । मैलेचाहिँ राजीनामा दिइसकेँ,” उनले भने ।
पार्टीको पोलिटब्युरो कमिटीको बैठकमा आफूले ४८ घण्टाभित्र राजीनामा दिने बताएको र सोहीअनुसार राजीनामा दिएको उनको भनाइ छ । उनले आफूले पाएको समयमा राम्रो काम गरेको समेत बताए । “पार्टीले जे निर्णय गरेको छ, त्यो स्वीकार्य छ । बजेट सेसन चलिरहेको अवस्थामा मन्त्रीहरूले जवाफ दिएर मात्रै फिर्ता हुने भन्ने कुरा चलिरहेको छ,” उनले भने, “त्यसले गर्दा केही लम्बिएको छ । जति समय पाएँ, म गौरवका साथ भन्न सक्छु– मैले राम्रो काम गरेँ ।”
एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषय थप पेचिलो बन्दै गएको छ । एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरूले फिर्ता हुन नचाहेका कारण हेरफेरमा ढिलाइ भएको नेपाली कांग्रेसका नेताहरू बताउँछन् ।
एकीकृत समाजवादीबाट सरकारमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसन श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भने राजीनामा दिएका छैनन् ।