नेकपा विभाजनको हिस्सा हुँ – संयोजक गौतम
१४ असार काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमले नेकपा विभाजनको हिस्सा आफू पनि भएको स्वीकार गरेका छन् । आज पार्टीको घोषणासहित नेकपा पुनर्गठन गर्ने प्रतिबद्धता जनाउँदै त्यस्तो बताएका हुन् । “मैले पार्टी विभाजन गरेको होइन । म हिस्सा स्वीकार गर्छु । सचिवालयमा ठीक बेठीक छुट्याएर अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्थेँ,” उनले भने, “उहाँहरूले मान्नुपर्थ्यो । बाहिर हेर्दा हाम्रो पार्टी छ, भित्र छैन भन्ने सुझाव दिन्थेँ ।” सोही पार्टीमा रहेकाले विभाजनमा आफ्नो भूमिका रहेको पनि उनले सुनाए ।
उनले कम्युनिस्ट आन्दोलन धराशायी हुने देखेपछि पार्टी एकता अभियानमा जुटेको उनले बताए । “अब म चुप लागेर बस्न हुन्न । कम्युनिस्ट आन्दोलन धराशायी भएको हेर्नुपर्ने स्थिति सिर्जना भएको छ ,” उनले भने । यदि, कम्युनिस्ट पार्टीहरूको एकता वा कार्यगत एकता भएन भने आगामी निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत ल्याउने गर्ने वा पहिलो पार्टी हुने बताए ।
पाँच वर्षपछिको निर्वाचनमा भने कांग्रेसलाई गठबन्धनको आवश्यकता नपर्ने उनको भनाइ छ । तत्कालीन नेकपा नफुटेको भए स्थानीय चुनावमा पनि पहिलो पार्टी बन्ने उनको भनाइ छ ।