एक अर्कालाई कारबाही गर्न यादव र भट्टराईको दौडधूप


Capital Headline
प्रकाशित मिति : बुधबार, असार १५ २०७९
3.3K
SHARES

१५ असार काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद अब बहुमत जुटाउने खेल र एक अर्कामाथि कारबाहीतर्फ प्रवेश गरेको छ। अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष सांसद र केन्द्रीय समितिमा बहुमत जुटाउने र अर्को पक्षलाई कारबाही गर्नेसम्मको तयारीमा लागेका छन्। पार्टीका मन्त्रीहरू हेरफेर गर्ने यादव पक्षको एकपक्षीय निर्णयले विवादको भूमरीमा फसेको जसपामा थप संकट थपिएको छ।

यादव पक्षका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको सोमबार साँझ बसेको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेपछि भट्टराई पक्ष पनि रणनीति निर्माणमा जुटेको छ। यादव भने पार्टी निर्णय प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउने तयारीमा छन्। बैठकले मन्त्रीको टुंगो लगाउने जिम्मा यादवलाई दिएको छ।

यादव पक्षले हालका मन्त्री फिर्ता गरेर नयाँ मन्त्री पठाउने निर्णय गरेपछि पनि भट्टराई पक्षसँग भने कुनै परामर्श गरेको छैन। कार्यकारिणी समितिमा बहुमत रहेकाले सोही आधारमा निर्णय भएको यादव पक्षको दाबी छ। तर, बैठकमा संघीय परिषद् अध्यक्ष भट्टराई र उनीनिकट सदस्यलाई जानकारी गराइएको थिएन।

जसपामा दुवै पक्ष संसदीय दल र केन्द्रीय समितिमा आफ्नो पक्षमा बहुमत जुटाउने खेलमा छन्। मन्त्री हेरफेरको निर्णयले शक्ति सन्तुलनमा फेरबदल आउने र आफ्नो पक्षमा बहुमत जुटने यादव र भट्टराई दुवै पक्षको बुझाइ छ। २१ सदस्यीय (दुई जना निलम्बन) संसदीय दलमा बहुमत जुटाएर यादवलाई दलको नेताबाट हटाउने र मन्त्री हेरफेर गर्ने भट्टराई र उनी पक्षधर नेताहरुको झन्डै एक महिना देखिको तयारी थियो। तर, निर्णायक विन्दुमा सांसद इस्तियाक राई र प्रदीप यादव सम्पर्कविहीन भएपछि भट्टराई पक्षलाई आफ्नो रणनीतिअनुसार अगाडि बढ्न सम्भव भएको थिएन।