प्रधानमन्त्रीजीले अर्थ मन्त्रालयको फुटेज हेर्नोस् – नेता नेम्वाङ
१६ असार काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानबिन गर्न माग गरेका छन् । सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
पूर्वसभामुख समेत रहेका नेम्वाङले आफ्नो पार्टीले संसद्मा सो विषय उठाएको बताए । अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरे । संसद् दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो माग गरेका हुन् । अर्थ मन्त्रालयको फुटेज हेरेपछि यथार्थ कुरा बाहिर आउने उनले बताए । प्रमुख प्रतिपक्ष दल एमालेले संसद्मा सो कुरा उठाउने तर अर्थमन्त्रीले ‘होइन’ भनेपछि छानबिन नगर्ने विषयले संसद्लाई कमजोर बनाउने उनको भनाइ थियो ।
“बजेट बनाउने बेलामा अनधिकृत मान्छे भन्ने प्रश्न उठ्यो संसद्मा । अर्थमन्त्रीजीले होइन भन्नुभयो । अब हो कि होइन, म अहिले केही भन्दिनँ । तर, मेरो के आग्रह हो त भन्दा सांसदहरूले उठाए यो अनधिकृत मान्छे प्रवेश गराए भनेर । अर्थमन्त्रीजीले होइन भन्नुभयो । म यसै भन्दिनँ, तर यस्तो अवस्थामा यसलाई यसै गरेर छोडन हुन्न,” उनले भने, “सजिलो छ, मेरो सुझाव पनि थियो, म यहाँ पनि दोहोर्याउँछु– प्रधानमन्त्रीजीले एकजना प्रमुख प्रतिपक्षको प्रतिनिधि राख्नुस् । तीनजनाले बालुवाटारमै बसेर वा प्रधानमन्त्री कार्यालयमा बसेर अर्थ मन्त्रालयको फुटेज हेर्दिनोस् न २४ घण्टाको । त्यो फुटेज हेर्दिनोस् । त्यो हेरेर तपाईंहरूले भनेजस्तो त देखिएन भनिदिनुस् । त्यहीँ मान्छौँ हामी । होइन देखियो भने यस्तो देखियो नि भनेर भन्नुस् ।”
नेम्वाङले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कसले अघि बढाएको भन्ने विषयमा विवाद भएपछि सरकारले त्यसलाई छानबिन गरेर तथ्य बाहिर ल्याउन ढिलाइ गर्न नहुने पनि पटक–पटक दोहोर्याए ।