माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् बैठकका कार्यसूची
१९ असार काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज (आइतबार) बस्दैछ। आजको बैठकको कार्यसूचीमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेका छन्।
गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ। त्यस्तै केन्द्रीय सदस्यको सङ्ख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ। साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ। मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन पनि बाँकी नै छ।
गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो। तर, हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन हुन सकेका छैनन्। महाधिवेशन सम्पन्न भएपछि केन्द्रीय समितिको बैठक सर्दै आएको थियो।