गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य हो – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २१ २०७९
2.1K
SHARES

२१ असार काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् ।

उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्यालाई सामान्य रुपमा लिन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई स्व. नेता गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताए । उनले संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री देउवाले जनताको लागि लडिरहने नेता गिरिजाप्रसाद कोइरालाको सालिक अनावरण गर्न पाउँदा खुसी लागेको बताए । उनले स्व. नेता कोइरालाले दलहरुबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भनिरहने स्मरण गर्दै आज पनि सहमति, सहकार्य एकताको कुरा सान्दर्भिक रहेको बताए ।