प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूचि


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २२ २०७९
3K
SHARES

२२ असार काठमाडौं। संघीय संसद अन्तर्गत आज बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सुरू हुनेछ। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेस गर्नेछन्।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९, माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ।

त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँणले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोईराला) ले कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)  विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।