महिला सांसदले आन्दोलन गर्नुपर्ने अवस्था आयो – वामदेव गौतम
२८ असार काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैरजिम्मेवारीका कारण संघीय संसद्का उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको बताएका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताए । उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने जिकिर गर्दै प्रतिनिभिसभामा चार वर्ष र राष्ट्रियसभामा करिब चार महिनायता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको उल्लेख गरे ।
सदस्य गौतमले उपाध्यक्षबिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने बताए । उनले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला हुँदा पनि संविधानको भावनालाई असर नगर्ने बताए करिब चार महिनायता राष्ट्रियसभाका चार समितिमध्ये तीनमा सभापति नरहेको उल्लेख गर्दै उनले सरकार, राजनीतिक दल, राष्ट्रियसभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराए । उनले सरकार र राजनीतिक दलहरूको लापरबाहीप्रति महिला सदस्यहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।