नेकपा (समाजवादी केन्द्र) बनाऔं – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ५ २०७९
3.4K
SHARES

५ साउन काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेका छन् । बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् ।

‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो । भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् ।

प्रचण्डका स्वकिय सचिव रमेश मल्लले केही दिनदेखि डा. भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा बुधबार बिहान पनि डा. भट्टराईसँग भेट भएको बताए । यसअघि उनीहरुबीच गत मंगलबार सिंहदरबार स्थिति नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा छलफल भएको थियो ।