प्रचण्डप्रति लक्ष्यित गर्दै गोकुल बास्कोटाले दिए यस्तो प्रतिक्रिया
६ साउन काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सत्ताको छिनाझपटी, लाभ, वा घाटाको आधारमा नागरिकता विधेयकबारे निर्णय हुन नहुने बताएका छन्। प्रतिनिधिसभामा जारी नागरिकता विधेयकमाथिको छलफलमा भाग लिएका बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति प्रहार गर्दै यति छिटो छिटो रंग बदल्न नहुने बताएका हुन्।
‘यसमा अब फटाफट आउनुपर्ने कुनै सत्ताको छिनाझपटीको लाभ, वा तत्कालको लाभ घाटाको आधारमा होइन नागरिकताको विषय देशको सार्वभौमिकता भनेकै भूगोल, आकाश र त्यसपछि नागरिकमा छ,’ उनले संसद बैठकमा बोल्दै भने, ‘त्यही कुरामा पनि हामी सरल हुने? मौसमपरस्त हुने? यति छिटो छेपारोले जस्तो रंग नबदलौँ।’नागरिकतासम्बन्धी प्रावधानमा माओवादी लचिलो बनेपछि विदेशबाट बिहे गरेर आउने बुहारीहरूलाई तत्कालै नागरिकता दिने प्रावधानसहित संसदबाट कानुन पास हुन लागेका बेला बास्कोटाले आक्रोश पोखेका हुन्।
उनले प्रदेशमा पहिचानको विषय राख्नुपर्ने भनिएकोमाथि पनि आपत्ति जनाए। ‘प्रदेशमा पहिचान राख्नुपर्ने भनिएको छ। पञ्जाधिकारीको कार्यालय कहाँ रहन्छ? प्रदेशमा रहन्छ र व्यक्ति व्यक्तिको?,’ उनले भने, ‘केही तथ्यांकको कुरा। मुल कुरामा ध्यान छैन नचाहिएको कुरामा किन जानुपर्यो?’
उनले नेपालको संसदमा अचम्म देखिन थालेको टिप्पणी गरे। ‘यो सक्नेले गर्जेजस्तो नगरौँ है, हामी अचम्म अचम्म देख्दैछौँ,’ उनले भने, ‘अस्ति पनि रुसले सबै युक्रेनीलाई नागरिकता दिन्छौं भन्थ्यो। यो सक्नेले गर्ने कुरा हो। यस्तो खालको हुन्छ त?’