नागरिकता विधेयक : यो छलफल हो कि छल हो – सांसद रावल
६ साउन काठमाडौं । नेकपा (एमाले)का सांसद भीम रावलले नागरिकता विधेयकलाई पर्याप्त छलफल नगरी पारित गर्न खोज्नु राष्ट्रियताप्रतिको खेलबाड भएको बताएका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रावलले देशको दीर्घकालीन अस्तित्वसँग जोडिएको नागरिकताको विषयलाई पर्याप्त छलफल नगरी अगाडि बढाइनु लोकतन्त्रको उपहास भएको बताए ।
राज्य व्यवस्था समितिले सिफारिस गरेर पठाएको सात वर्षे र पाँच वर्षे प्रावधानलाई हटाइनु गम्भीर अपराध भएको रावलले बताएका छन् । “स्वदेशीले नपाउने, विदेशीले सजिलै पाउने व्यवस्था गर्न खोज्नु गम्भीर अपराध नै हो,” रावलले भने ।
संविधान बनाउने बेला नै नेपालमा विवाह गरेर आएका विदेशीले सात वर्ष नेपालमै बसेपछि मात्रै नेपाली अङ्गीकृत नागरिकता दिन राजनीतिक दलहरूले सहमति गरेको स्मरण गराउँदै उनले उक्त सहमति तोडिनु राजनीतिक अनैतिकता भएको बताए ।