गठबन्धन सरकारले जस लिनकै लागि नागरिकता विधेयक ल्यायो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन ११ २०७९
2.5K
SHARES

११ साउन काठमाडौ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जस लिनकै लागि गठबन्धन सरकारले नयाँ नागरिकता विधेयक ल्याएको बताएका छन् । बुधबार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको बताए ।

पहिले समितिमा नागरिकता विधेयक रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उनको भनाइ छ ।

त्यस्तै ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिध्याउनेमा केन्द्रित रहेको तर्क गरे ।

गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई विखण्डित गर्ने प्रयास गरेको र गठबन्धन दलका क्रियाकलापका कै कारण संघीयतासमेत बदनाम भएको उनको आरोप छ ।  ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रित रहेको बताए ।