बजेट निर्माण प्रकरण : छानबिन समितिको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १२ २०७९
2.4K
SHARES

१२ साउन काठमाडौं  । संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिको बैठक बस्न लागेको हो ।

समिति सदस्यहरू आज प्रतिवेदन लेखनमा व्यस्त हुनेछन् । हिजोदेखि उनीहरू छानबिन प्रतिवेदन लेखनमा जुटेका छन् । आज प्रतिवेदन तयार गरेर भोलिको प्रतिनिधिसभा बैठकमा सभामुखसमक्ष पेस गर्ने तयारी छ । समितिले यसअघि विभिन्न क्षेत्रका विज्ञहरूसित छलफल र घटनाबारे सोधपुछ गरेको थियो ।

शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनेको हो । समिति बनेसँगै शर्माले पदबाट राजीनामा दिएका थिए ।