सरकार पूर्णरूपमा असफल भयो – महासचिव पोखरेल
१८ साउन दाङ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव ) सहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउने कुरा उचित नहुने बताएका छन्। आज (बुधबार) दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले बिप्लव नेतृत्वको पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मुलाधारको राजनीतिमा ल्याएको समेत बताए। उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने उनले प्रष्ट पारे। उनले पूराना घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित नभएको पनि बताए।
त्यस्तै, महासचिव पोखरेलले अहिलेको पाँच दलीय गठबन्धको सरकारले सरकार सञ्चालन गरेको एक वर्षमा यो मुलुकलाई अगाडि बढाउनेतर्फ भन्दा पनि देशलाई संकटतर्फ धकेलेको आरोप लगाए। उनले सरकार पूर्णरूपमा असफल भएको भन्दै भष्ट्राचार र महँगीले सीमा नाघेको आरोप लगाए।