चुनाव लड्न चितवन छोड्दिनँ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १९ २०७९
2.4K
SHARES

१९ साउन काठमाडौं । पार्टी नेताहरूले पूर्वी रुकुम वा रोल्पाबाट चुनाव लड्न गरेको प्रस्तावलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् । उनले आफू चितवनबाटै चुनाव लड्ने बताएका छन् । प्रचण्डविरुद्ध मोर्चाबन्दी हुनसक्ने भन्दै पार्टीकै नेताहरुले उनलाई सहज निर्वाचन क्षेत्र रोज्न प्रस्ताव गरेका थिए ।

पूर्वी रुकुम, रोल्पा र रुकुम माओवादीको आधार क्षेत्र मानिँदै आएको छ । रोल्पाबाट वर्षमान पुन र रुकुमबाट जनार्दन शर्मा सांसद छन् । पूर्वी रुकुममा माओवादीका स्थापित नेता छैनन् । तर, माओवादी प्रभाव भने बलियो रहेको नेताहरू बताउँदै आएका छन् ।

माओवादीका एक शीर्ष नेताले भने, “हामीले कमरेड प्रचण्डलाई निर्वाचन क्षेत्र सार्ने कि भनेर प्रस्ताव गरेका थियौं । उहाँले चितवन नछाड्ने भन्नुभयो । उहाँ चितवनबाटै चुनावमा प्रतिस्पर्धा गर्नुहुन्छ ।” यसअघि प्रचण्ड विभिन्न जिल्लाबाट चुनाव लडिसकेका छन् । पछिल्लो समय उनको सक्रियता चितवनमै बढ्दै गएको छ ।

भर गठबन्धनकै

दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्ड अहिले सत्ता गठबन्धनका प्रमुख नेतामध्येका एक हुन् । अहिले कांग्रेससहितको गठबन्धन कायम छ । अहिलेकै सत्ता गठबन्धन चुनावसम्म सहकार्य गर्ने मुडमा देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपालले सत्ता गठबन्धनमै जोड दिँदै आएका छन् ।

तर, वाम एकताका लागिसमेत केही नेताहरू सक्रिय छन् । यस्तो अवस्थामा अहिले नै चुनावमा कस्तो गठबन्धन हुन्छ भनेर यकिन गर्न कठिन भएको नेताहरूको भनाइ छ ।

तर, कांग्रेससँगकै गठबन्धनले निरन्तरता पाउने सम्भावना बढी देखिन्छ । प्रचण्डले कांग्रेससँग मिलेर चुनावमा गए दोस्रो दल बन्ने सम्भावना रहेको बताउँदै आएका छन् ।

दुईपटक प्रधानमन्त्री भइसकेका मओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पछिल्लो समयमको निर्वाचन क्षेत्र चितवनको क्षेत्र नम्बर–३ हो । यो निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन् ।

०७९ को स्थानीय तह निर्वाचनको परिणाममा यो क्षेत्रमा माओवादी केन्द्र कमजोर देखिन्छ । गठबन्धन गरेर भरतपुरमा महानगरपालिकाको प्रमुख माओवादीले जितेको थियो भने माडी नगरपालिका पराजित भएको थियो ।

तर, नेताहरु प्रचण्ड राष्ट्रिय व्यक्तित्व भएकाले स्थानीय चुनावजस्तो संघको चुनाव नहुने दाबी गर्छन् ।

२०७४ मा भएको निर्वाचनमा प्रचण्ड वाम गठबन्धनको सहयोगमा चितवनको क्षेत्र नम्बर–३ बाट चुनाव लडेका थिए । उनले ४८ हजार २७६ मत ल्याएका थिए । कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सघाउँदा ३८ हजार ९३५ मत आएको थियो ।