चीन मामिला : हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन – सम्मानित नेता खनाल
१९ साउन काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमण एक चीन नीति विपरीत भएको टिप्पणी गरेका छन्। नेकपा एसका विदेश विभाग प्रमुखसमेत रहेका खनालले बुधबार वक्तव्य जारी गरेर पेलोसीको ताइवान भ्रमणको आपत्ति जनाएका हुन्।
खनालले विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन्। उनले आफ्नो पार्टी ताइवान र सिंग्गो एसिया क्षेत्रमा हुने शान्ति विरोधी गतिविधिको विपक्षमा रहेको बताएका छन्।
‘हाम्रो पार्टी ताइवान र समग्र एसियाको शान्तिमा खलल पार्ने गतिविधिको विरोध गर्छ,’ खनालले भनेका छन्, ‘त्यसैले हाम्रो पार्टीको तर्फबाट म फेरी पनि एक चीन मात्र छ। त्यो भनेको जनगणतन्त्र चीन मात्र हो।’ ताइवानको मुद्दा भनेको सम्पूर्ण रुपमा चीनको मात्र मुद्दा भएको उल्लेख गरेका छन्।
‘ताइवानको प्रश्नमा चीनले शान्तिपूर्ण र न्यायोचित ढंगले लिने अडानमा हाम्रो समर्थन रहन्छ,’ वक्तव्यमा भनिएको छ, ‘चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार कसैलाई छैन।’ एसियाली देशको भ्रमणमा निस्किएकी अमेरिकी संसदकी उपसभामुख न्यान्सी पेलोसी मंगलबार सिंगापुर, मलेसिया हुँदै ताइवान पुगेकी थिइन्।