२० साउन धनगढी । कैलालीमा बाघको छालासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका-२ मा सुदूरपश्चिम अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुपप्र ०४-००१ च ०००६ नम्बरको बोलेरो जीपमा डोटीबाट ल्याउँदै गरेको छालासहित उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले सेतो प्लाष्टिक कट्टामा बाघको छाला र हड्डीहरू बाँधेको अवस्थामा बरामद गरिएको छ । डीएसपी जोशीकाअनुसार प्रारम्भिक सोधपुछका क्रममा चालक ओलीले बुडरबाट बोलेरो जिप चलाएर फल्टुडेमा बाघको छाला र हड्डी हालेर बिक्री गर्ने उदेश्यले चारै जनाको सहमतिमा अत्तरियातर्फ आएको बुझिएको छ .बाघको छालाको लम्बाइ टाउकोदेखि पुच्छरसम्म ४ फिट ७ इन्च, पुच्छरको लम्बाई ३ फिट २ इन्च, चौडाइ २ फिट २ इन्च रहेको प्रहरीले जनाएको छ । हड्डीको तौल २ किलो छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।