बाबुराम र वामदेवलाई सहभागी गराउने च्याप्टर क्लोज
२० साउन काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी आम निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो। पाँच दल मिलेर चुनाव लड्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले नेपालखबरलाई जानकारी दिए।
जसपाबाट फुटेका डा. बाबुराम भट्टराई र बामदेव गौतमलाई गठबन्धनमा सहभागी नगराउने निर्णय भएको ती नेताले जानकारी दि‘पाँच दलभित्रको गठबन्धनलाई निरन्तरता दिने भनेपछि अन्य पार्टीलाई सहभागी गराउने च्याप्टर क्लोज भयो,’ ती नेताले भने, ‘पाँच दल मिलेर हामी चुनाव लड्छौं, आजको बैठकमा कोही गठबन्धनको प्रस्ताव लिएर नआएको जानकारी भयो,’
प्रस्ताव नआएपछि गठबन्धनभित्र अन्य दललाई मिसाउने कुरै नभएको ती नेताले दाबी गरे। बामदेव गौतमले नेकपा (एकता राष्ट्रिय अभियान) दल दर्ता गर्दै कम्युनिस्टहरु एक गर्ने अभियानमा थिए। उनले तत्कालिन नेकपाका बहुमत सदस्यहरुसँग पटक पटक वार्ता गरेका थिए।
उता, जनता समाजवादी पार्टी छाडेका डा. भट्टराई पनि पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएका थिए। चुनावी सहकार्यकै लागि उनले प्रचण्डसँग भेट समेत गरेका थिए।
तर, अहिलेसम्म गठबन्धनमा त्यस्तो केही विषय नआएकोले आजको बैठकबाट अन्य दल वा व्यक्ति गठबन्धनमा मिसिने च्याप्टर क्लोज भएको ती नेताले जानकारी दिए। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको थियो।
यसअघि स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो। त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो।
तर, ३ सय स्थानीय तहमा मात्र तालमेल भएको, केही तालमेलमा गठबन्धनभित्र असहयोग भएपछि अहिले भने सुरुदेखि नै गठबन्धनले बनाएको समितिमार्फत निर्वाचन क्षेत्र बाँड्ने तयारी छ।