एमालेले ‘घर फर्क अभियान’ थाल्छ – महासचिव पोखरेल
२२ साउन भैरहवा। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन्। आइतबार भैरहवामा आयोजित प्रशिक्षण कार्यक्रममा उनले माओवादी केन्द्र र एकीकृत समाजवादी विचार, गन्तव्य, लक्ष्यमा द्विविधा रहेको पार्टी भएको बताए।
‘माओवादी केन्द्र र एकीकृत समाजवादीलाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सहारामा हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने। एमालेको मुख्य प्रतिस्पर्धा काँग्रेससँग नै रहेको उनले बताए। अब एमालेले पार्टी प्रवेश र ‘घर फर्क अभियान’ थाल्नुपर्ने उनको भनाइ छ।
महासचिव पोखरेलले संक्रमणलाई लम्ब्याउने काम भइरहेको र त्यसको नेतृत्व पाँच दलीय गठबन्धनले गरेको आरोप पनि लगाए। लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्रीसमेत रहेका पोखरेलले एमाले नेतृत्वको सरकार इतिहासकै सफल सरकार भएको बताए। उनले एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम जनताका माझ लैजानुपर्नेमा जोड दिए।
‘प्रतिनिधिसभा विघटन गलत थिएन, जनतामा जानु गलत कुरा हो ? आफ्नो नेतृत्वमा बनेको सरकार कसले संकटमा पार्न खोज्छ ?,’ उनले प्रश्न गरे। पार्टीविरुद्धको घेराबन्दी एमाले नेतृत्वले गरेको राम्रा कामको परिणाम भएको उनको दाबी थियो। जनतामाझ एमाले लोकप्रिय भएकाले पाँच दलीय गठबन्धनले गठबन्धन गरेको उनले बताए।