निर्मला पन्त प्रकरणमा पक्राउ परेका विष्टविरुद्ध युवतीलाई दुर्व्यवहार गरेको आरोप


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २३ २०७९
4.2K
SHARES

२३ साउन काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा पक्राउ परेका दिलीपसिंह विष्टविरुद्ध युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । भीमदत्त नगरपालिका २ का विष्टले बाटोमा हिड्ने युवतीलाई जिस्काउने गुनासो आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए । “दिलीपसिंहले युवतीलाई जिस्काउनु कुनै नौलो कुरा होइन । हामीले विभिन्न कोणबाट निर्मला पन्तको अनुसन्धान गरिरहेकै छौँ । दिलीपसिंह केन्द्रित अनुसन्धान पनि जारी छ,” उनले भने ।

यद्यपि, प्रहरी कहाँ अहिलेसम्म उजुरी भने नपरेको प्रहरीले जनाएको छ । चार वर्षअघि निर्मला पन्त उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । हत्याको २५ दिनपछि दिलीपसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालतले दिलीपसिंहको संलग्नता नभएको पुष्टि र डीएनए म्याच नभएको भन्दै तारेखमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका थिए । निर्मला पन्त हत्याको चारवर्ष वितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।