म चितवनबाटै चुनाव लड्छु – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २५ २०७९
2K
SHARES

२५ साउन काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले पत्रकार महासंघ जापानको टोकियो शाखाले गरेको पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।

पत्रकारले कुन ठाँउबाट चुनाव लड्दै हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले भने, ‘म चितवनबाटै लड्छु । मैले एकदम प्रष्टसँग ४/५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव चड्छु क्लियर हुनुहोला । बरु तपाइहरु जापानमा बस्ने साथीभाइहरुले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षा छ । किनकी मैले भनेको छु, म एउटा राष्ट्रिय लिडरको हैसियतले देशभरीको विकास र देशभरीको समृद्धि नै सोच्छु मैले । देशको केन्द्रविन्दुमा भएको र विकासको तीव्र गतिमा अगाडि जाने सम्भावना भएको हुनाले देशैभरीलाई एउटा सन्देश जाओस् भनेर पनि मैले चितवनलाई महत्व दिइराखेकै छु ।’

अध्यक्ष प्रचण्डले देशका विभिन्न ठाउँबाट आफूलाई निर्वाचन लड्नका लागि अनुरोध आएको बताए । उनले भने, ‘मलाई चुनाव लड्नुपर्यो भनेर रुकुमका साथीहरुले गोरखाका साथीहरुले, धनुषाका साथीहरुले, सिरहाका साथीहरुले, कालिकोटका साथीहरुले धेरैले भन्नुभएको छ । भित्रैदेखि भन्नुभएको छ ।

साथीहरुलाई के परेको छ भन्दाखेरी प्रचण्ड आइदिएखेरि जिल्लाको विकास अलिकति व्यापक रुपले हुन्थ्यो । पहिचान हुन्थ्यो जिल्लाको भन्ने लागेको छ । तर मैले सबै साथीहरुलाई धन्यवाद भन्दै म चाही यो पटक चितवनबाटै लड्छु भनेको छु ।’