प्रचण्डको जापान भ्रमण कस्तो रह्यो ?
२६ साउन काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन्। पाँचदिने भ्रमणमा साउन २१ गते जापान गएका अध्यक्ष प्रचण्ड आज स्वदेश फर्किएका हुन्। जापान भ्रमणबाट फर्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बुधबार प्रचण्डले जापान भ्रमणले नेपाल र जापानको सम्बन्धमा नयाँ परिस्थितिको सिर्जना भएको बताए।
‘पहिलोपटक जापान गएको राम्रो भयो,’ उनले भने,‘जापान भ्रमणले नेपाल-जापानको सम्बन्धमा नयाँ परिस्थिति सिर्जना भएको छ।’ यस्तै, प्रचण्डले आफ्नो जापान भ्रमणको क्रममा त्यहाँको कृषि प्रविधि त्यस्तै सूचना सम्बन्धिको प्रविधिबारे केहि अध्ययन पनि गरेको र नेपालको लागि त्यो अनुकरणिय रहेको बताए। उनले जापानमा त्यहाँको सत्तारुढ दलको नेता र सांसदलाई भेटेको र सहयोगको आदन-प्रदानबारे पनि छलफल भएको बताएका छन्। त्यस्तै, उनले आसन्न निर्वाचनमा परवेक्षणका लागि निम्ता पनि गरेको बताए।
उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाई गर्न नहुने बताए। ‘नागरिकता विधेयक राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लाग्छ। ढिलो नहुनुपर्थ्यो,’ प्रचण्डले भने। राष्ट्रियसभाबाट यही साउन १२ मा सो विधेयक पारित भएको थियो। त्यसअघि प्रतिनिधिसभाबाट पनि पारित भएको थियो। संघीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छैनन्।
अध्यक्ष कमरेड प्रचण्डको जापान भ्रमणबारे प्रेस नोट:
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही २०७९ साउन २१ गतेदेखि २५ गतेसम्म जापानको भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँ नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापानमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी बन्नुभएको थियो । अध्यक्ष कमरेड प्रचण्ड आफ्नो भ्रमण टोलीसहित राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानमार्फत श्रावण २० गते राति जापान प्रस्थान गर्नुभएको थियो भने नेपाल एयरलाइन्सकै विमानमार्फत स्वदेश फर्किनु भएको छ ।
अध्यक्ष कमरेड प्रचण्डले जापान भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सरिक हुनुका साथै कृषि, विज्ञान प्रविधि, पर्यटन प्रवर्द्धन, पुनर्निर्माण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो ।
१. २०७९ श्रावण २१ गते (अगष्ट ६, २०२२) को बिहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणा र कार्यक्रममा जापान आएको र जापान बसाइको क्रममा जापानको विकास र समृद्धिलाई नजिकबाट अनुभूत गर्ने र केही राजनैतिक भेटघाटमा समेत सहभागी बन्ने बताउनु भयो । सोही दिन विमानमार्फत फुकुओका पुगेको अध्यक्ष कमरेडले पहिलो कार्यक्रमको रुपमा जापानको फुकुओकामा गैह्र आवासीय नेपालीद्वारा आयोजना भएको नेपाल फेष्टिबल सेरेमोनीमा सहभागी बन्नु भयो र प्रमुख अतिथिका रुपमा समारोहको समुद्घाटन गर्नुभयो । सोही दिन अध्यक्ष कमरेडले जापानको एक प्रमुख व्यापारिक शहर ओशाका पुगी नेपाली समुदायका अगुवाहरूसँग भेटवार्ता एवं कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
२. २०७९ श्रावण २२ गते (अगष्ट ७, २०२२) का दिन बिहान अध्यक्ष कमरेडले दोस्रो विश्व युद्धमा आणविक बमले ध्वस्त पारिएको हिरोसिमा शहरमा अवस्थित शान्ति स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुका साथै युद्ध पछिको पुनर्निर्माणका बारेमा जानकारी लिनुभयो । सोही दिन साँझ नेपाली जन प्रगतिशील मञ्च, जापानले टोकियोमा आयोजना गरिएको ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभयो ।
३. २०७९ श्रावण २३ गते (अगष्ट ८, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले साइतामा प्रान्तीय सरकारको कृषि व्यवसाय प्रवर्द्धन विभाग अन्तर्गतको कुरौसु अर्किड लिमिटेडको अर्किड नर्सरी अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले कृषिलाई आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्दै नेपाली अर्थतन्त्रलाई सबल बनाउन आवश्यक भएको बताउनुभयो । अध्यक्षले त्यसका लागि कृषिमा आधारित उद्योगहरूको प्रवर्द्धन र विकास गर्न जापानको वैज्ञानिक र आधुनिक प्रविधिको अनुसरण गर्न चाहेको बताउनुभयो । उक्त अवलोकन भ्रमणमा जापानका लागि नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुबेदीको पनि उपस्थिति रहेको थियो ।
सोही दिन दिउँसो जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले जापानी संसद ‘डायट’ को अवलोकन गर्नुका साथै जापानी संसदीय प्रणालीको विशेषता र राजनीतिक दलहरूको स्थितिको जानकारी लिनुभयो । ‘डायट’ मा सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता तथा सांसद सदस्य मासाकी तायराले अध्यक्ष कमरेडको स्वागत गर्नुको साथै संसदको अवलोकन गराउनुभयो ।
सोही दिन बेलुका अध्यक्ष कमरेडले नेपाली जन प्रगतिशील मञ्च, जापानका अगुवा कार्यकर्ताहरूसँग छलफल तथा अन्तर्संवाद गर्नुभयो । अध्यक्ष प्रचण्डले प्रवासी नेपालीहरूको श्रम, सीप र पुँजीलाई देश निर्माणमा खर्चिन सरकार एवं पार्टीको तर्फबाट आवश्यक वातावरण निर्माण गरिने बताउँदै त्यसको लागि तयार रहन आव्हान गर्नुभयो ।
४. २०७९ श्रावण २४ गते (अगष्ट ९, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले नेशनल इन्स्टिच्यूट अफ इम्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी को अवलोकन भ्रमण गर्नुभयो । जापान सरकारको पूर्ण स्वामित्वमा रहेको उक्त अनुसन्धान केन्द्रको भ्रमणको क्रममा अध्यक्ष कमरेडले विभिन्न विद्याका विषय विज्ञ, डाक्टरहरू तथा अनुसन्धानकर्ताहरूको टिमबाट जापान सरकारले विज्ञान प्रविधि र सूचना प्रविधिका क्षेत्रमा गरेको अत्याधुनिक विकासको बारेमा जानकारी लिनुका साथै दुई देशका बीचमा विकसित प्रविधिको आदानप्रदानका विषयमा छलफल पनि गर्नुभयो । सोही दिन दिउँसो नेपाली समुदायद्वारा राजधानी टोकियोमा सञ्चालित नेपाली विद्यालयहरू एभरेष्ट इन्टरनेशनल स्कुल र हिमालय इन्टरनेशनल स्कुलका कार्यक्रममा सहभागी हुनुभयो । नेपाली समुदायले विदेशमा रहेर पनि शिक्षाको माध्यमबाट नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नुको साथै नयाँ पुस्तालाई नेपालको राष्ट्रिय भावना जागृत गर्न योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।
सोही दिन अपराह्न ४ बजे अध्यक्ष कमरेड प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद सदस्य एवं नेपाल-जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइ बीच एलडिपि हेडक्वाटर टोकियोमा भेटवार्ता भयो । प्रतिनिधि मण्डल स्तरीय भेटवार्ताका क्रममा दुई देशबीचको आवसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्ने, जनस्तरको सम्बन्धलाई विस्तार गर्ने, स्थानीय सरकार र नगरहरूको बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको थियो । उक्त भेटवार्ताले नेपाल-जापान सम्बन्धलाई थप मजबुत बनाउन र दुई देश बीचको राजनीतिक तथा कूटनैतिक तहमा हुने संवादलाई विकसित गर्न मद्दत पुर्याएको छ । उक्त भेटवार्तामा नेता निकाईले अरू थप ३ जना सांसद सदस्यहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो भने अध्यक्ष कमरेड प्रचण्डको प्रतिनिधिमण्डलमा जापानका लागि नवनियुक्ति नेपाली राजदूत दुर्गाबहादुर सुवेदी पनि सहभागी बन्नुभएको थियो ।
साँझ टोकियोस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजित रात्रीभोजमा सरिक भई जापानका राजनीतिक नेताहरू, कूटनीतिज्ञहरू, प्रशासकहरू र समाजका विभिन्न क्षेत्रका अगुुवाहरु, नेपाली समुदायका अगुवा प्रतिनिधिहरू सम्मिलित कार्यक्रमलाई सम्बोधन गर्नुभयो । नेपाल र जापान बीचको ऐतिहासिक एवं सांस्कृतिक सम्बन्धको चर्चा गर्दै भूकम्प पछिको पुनर्निर्माण, कोभिड नियन्त्रण लगायत नेपालको विकासमा जापानले गरेको सहयोग प्रति आभार प्रकट गर्नुभयो । र, आगामी दिनमा नेपालका प्राथमिकतामा जापान सरकारको सहयोगका लागि आव्हान गर्नुभयो ।
सोही दिन राती नेपाली समुदायका र जापानी पत्रकार समेतको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष कमरेड सहभागी हुनुभयो । पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष कमरेडले आफ्नो जापान भ्रमणबाट सन्तुष्ट भएको, भ्रमण सफल रहेको र आफूले जापानबाट केही सिकाई र ऊर्जा लिएर फर्किन थालेको बताउनु भयो ।
५. २०७९ श्रावण २५ गते (अगष्ट १०, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले टोकियोस्थित नेपाली दूतावासको अवलोकन गर्नुभयो । सो क्रममा राजदूत दुर्गाबहादुर सुबेदीले दूतावासले गरिरहेका कामको चर्चा गर्दै जनसेवाका लागि स्थान तथा जनशक्ति अभाव जस्ता दूतावासले भोगिरहेका समस्याहरू बारे जानकारी गराउनुभयो । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलको प्रमुख नेता हुनुको नाताले समस्या समाधानको लागि आशावादी रहेको निवेदन गर्नुभयो भने अध्यक्ष कमरेडले जापानमा बस्ने नेपालीहरूको समस्या समाधानमा तदारुकताका साथ लागिपर्न निर्देशन गर्दै आफू काठमाडौं फर्किएपछि प्रधानमन्त्री तथा सम्बन्धित विभागीय मन्त्रीसँग समस्या समाधानका निम्ति छलफल गर्ने बताउनुभयो ।
अध्यक्ष कमरेड प्रचण्ड आफ्नो पाँच दिने जापान भ्रमण सफलतापूर्वक पुरा गरी स्वदेश फर्किनुभएको छ । भ्रमण सफलताका लागि सहयोग पुर्याउनु हुने हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुक, लिवरल डेमोक्रेटिक पार्टी जापान तथा जापानका राजनैतिक दलका माननीय ज्यूहरू, नेपाल सरकारको राजनैतिक तथा प्रशासनिक नेतृत्व, परराष्ट्र मन्त्रालय, जापानका लागि नेपाली राजदूत तथा दूतावास परिवार, नेपाली जनप्रगतिशील मञ्च जापानका सम्पूर्ण नेता कार्यकर्ता साथीहरू, जापानमा रहनुहुने सम्पूर्ण नेपाली समुदायका अगुवा तथा शुभेच्छुक, नेपाल, जापान तथा विश्वभर रहेर खवर सम्प्रेषण गर्ने पत्रकार मित्रहरू, नेपाल र नेपालीको भलाई चाहने मित्रहरू तथा सम्पूर्ण देशभक्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।