मेरो लागि यो निर्वाचन अन्तिम हो – पूर्वप्रधानमन्त्री खनाल
५ भदौ काठमाडौ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू अन्तिम पटकका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन लागेको बताएका छन्। आइतबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले इलाम क्षेत्र नं. १ मा गठबन्धनबाट चुनाव लड्न लागेको बताएका हुन्। यो निर्वाचन आफ्ना लागि अन्तिम हुने बताउदै खनालले इलाम– १ बाट चुनाव जित्ने विश्वास समेत व्यक्त गरे।
राष्ट्रपति हुने सहमतिमा चुनाव नलड्ने चर्चा छ नि ? भन्ने पत्रकारको जिज्ञासामा खनालले भने, ‘जनतासँगको माया पिरती टुटेको छैन। ४८ सालदेखि चुनाव लड्दै आएको छु । अब एकपटक लड्छु।’ अहिले पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा होमिने खनालले बताए। उनले गठबन्धन चुनावसम्म हुन्छ कि पछिसम्म जान्छ भन्ने कुरा भन्न नसकिने बताए। तर, अहिले चुनावसम्म गठबन्धन दृढतापूर्वक अगाडि बढ्ने बताए। पूर्वप्रधानमन्त्री खनालले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डन सिर्जना भएको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए।
नेता खनालले अहिले आफूहरू माओवादी केन्द्रसँग निकटतामा रहेको बताए। ‘मुलुकका लागि बृहत् वामपन्थी एकताको आवश्यकता थियो, त्यो भएन। तर, समाजवादी रुपान्तरणको सिलसिलामा एकताबद्ध हुनैपर्छ,’ उनले भने।