सत्ता गठबन्धन बैठक बस्दै : सिट बाँडफाँट कार्यदलमा सिट दाबी गर्ने तयारी
१२ भदौ काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक साँझ ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदल सदस्य तथा राजमो नेता हिमलाल पुरीले जानकारी दिए ।
आजको बैठकमा दलहरूले आ–आफ्नो दलको तर्फबाट सिट दाबी गर्ने तयारी गरेका छन् । यसअघिको बैठकमा पनि दलहरुले सिटको दाबी गरे पनि निष्कर्श निस्कन सकेको थिएन । आजको बैठकमा दलहरूले अघिल्लो बैठकमा दाबी गरेको सिटमा घटेर आउने र त्यसमा छलफल हुने पुरीले जानकारी दिए ।
“दलहरुले अघिल्लो बैठकमा आ–आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ । जुन निर्वाचन क्षेत्रभन्दा बढी हुन् आउँछ,” उनले भने, “आजको बैठकमा उहाँहरु सिट घटेर आउनुहुन्छ र त्यसमा छलफल हुन्छ ।”
गठबन्धनमा रहेको कांग्रेसले एक सय सिट, माओवादीले ६० सिट दाबी गरेको छ । नेकपा (एस)ले ४० सिट तथा जसपाले ३२ सिट दाबी गरेको छ । यस्तै जनमोर्चाले २ सिट दाबी गरेको छ ।