एमालेले वाम गठबन्धनको कुरा कार्यकर्तालाई थाम्न मात्र ल्याएको हो – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १२ २०७९
3.2K
SHARES

१२ भदौ काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्ना कार्यकर्तालाई थाम्नलाई मात्रै एमालेले वाम गठबन्धनको कुरा गरेको बताएका छन्। संक्षिप्त कुराकानी गर्दै नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एमालेले वाम गठबन्धनको कुरा गरे पनि त्यसका लागि इमानदारीपूर्वक आएको नदेखिएको बताए।

‘हामीले पनि वाम गठबन्धनका लागि खुला छौं भनेर पहल गरेकै हो नि। एमालेले भने पनि प्रस्ताव केही ल्याएको छैन। साँच्चै इमानदारपूर्वक आएको हो भने त्यो सकारात्मक हो,’उनले भने,’तर यो नहुने भएपछि आफ्नो कार्यकर्ताको बलको कारणले र ठूलो मात्रामा रहेको वामपन्थी जनमतको कारणले झुक्याउनमात्रै ल्याएको हो कि भन्ने आशंका व्याप्त छ। त्यस्तो भयो भने राम्रो भएन।’

वाम गठबन्धनका लागि इमानदारीपूर्वक एमाले आउनुपर्ने भए पनि त्यस्तो नदेखिएको उनले बताए। शनिबार सकिएको एमाले केन्द्रीय कमिटी बैठकले वाम गठबन्धनका लागि खुला रहेको निर्णय गरेको थियो।