अब क्रान्तिकारी युगको सुरुआत भयो – मन्त्री भुसाल


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र १४ २०७९
2.7K
SHARES

१४ भदौ काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कुनै बेला चर्को लोडसेडिङ भोगेका नेपालीका लागि चार्जिङ स्टेशन र इन्डक्सन चुल्होको प्रयोग गर्ने अवस्थामा पुग्नुलाई ‘क्रान्तिकारी कदम’ को संज्ञा दिएकी छन्। रुस र युक्रेनबीचको विवाद बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासियो। त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा समेत पर्न गयो।

हाल नेपाल आयल निगमले बिक्री पर्ने पेट्रोलको मूल्य प्रतिलिटर एक सय ८० छ। यस आधारमा पेट्रोलियम सवारीसाधनको प्रतिकिलोमिटर लागत २० बराबर पर्न जान्छ।

तर विद्युतीय सवारीसाधनको प्रतिकिलोमिटर लागत पेट्रोलियम पदार्थ प्रयोग हुने सवारीसाधनको तुलनामा असाध्यै न्यून छ। यही तथ्यलाई आत्मसात् गर्दै स्वदेशी बिजुलीको खपत बढाउनका लागि चार्जिङ स्टेशन निर्माणको कामलाई रणनीतिकरूपमा अगाडि बढाइएको ऊर्जामन्त्री भुसालको भनाइ छ।

उनले भनिन्, ‘हिजो हामी चरम लोडसेडिङमा थियौँ। बिजुलीको एक झल्को पाउनु पनि हाम्रा लागि ठूलो कुरा थियो। आज हामी बिजुली बिक्री गरिरहेका छौँ भने विद्युतीय सवारीसाधनसमेत चलाउने अवस्थामा पुगेका छौं। यो आफैँमा क्रान्तिकारी सुरुआत हो।’

उनले लोडसेडिङको अन्त्यदेखि बिजुली निर्यातको अवस्थासम्म पुग्नु आफैँमा महत्वपूर्ण उपलब्धि भएको भन्दै यसलाई थप विस्तार गर्दै लैजाने योजनामा मन्त्रालय रहेको बताइन्। प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मन्त्री भुसालले सरकारले विद्युतीय सवारीसाधन मात्रै खरिद गर्ने निर्णय गरेको र त्यसमा निजी क्षेत्रले समेत साथ र सहयोग गर्ने विश्वास व्यक्त गरिन्।

उनले पेट्रोलियम पदार्थको खरिदका लागि मात्रै वार्षिक रु तीन खर्ब बराबरको रकम विदेशिने गरेको भन्दै त्यसलाई रोक्न पनि विद्युतीय सवारीसाधनको उपयोग र स्वदेशी बिजुलीको खपत नै उत्तम विकल्प भएको बताइन्।

हाल विद्युतीय सवारीसाधन खरिदका लागि नै छ महिनासम्म प्रतिक्षा गर्नुपर्ने अवस्था रहेको भन्दै उनले पछिल्ला दिनमा आकर्षण बढ्दै गएको यसबाट पनि पुष्टि हुने उल्लेख गरिन्।