विधायन व्यवस्थापन समितिको बैठक बस्दै
१५ भदौ काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा सुरु हुनेछ ।
आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भई आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल हुने जनाइएको छ । राष्ट्रियसभाको गएको आइतबार बसेको बैठकबाट नागरिकता विधेयक उक्त समितिमा पठाइएको थियो । त्यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् ।
प्रतिनिधिसभाबाट जस्ताको त्यस्तै पारित गरी राष्ट्रियसभामा पठाइएको थियो । विधेयकमाथि विधायन व्यवस्थापन समितिमा छलफलपछि प्रतिवेदनसहित पुनः राष्ट्रियसभामा पेस गरिनेछ ।