सहमति नजुटेपछि सिट बाँडफाँट कार्यदलको बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
3.1K
SHARES

१६ भदौ काठमाडौं । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ । बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो ।

बुधबार साँझ बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरी सकिएको थियो ।  राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरीका अनुसार नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटकपटक निष्कर्षविहीन बन्दै आएको छ ।

नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ ।

कांग्रेस नेताहरूले सार्वजनिक रूपमै १०० सिटबाट तल नझर्ने अभिव्यक्ति दिइरहेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सबै सिट आफू राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने बताएका छन् ।

गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक कार्यक्रममै आफूहरूले प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभामा १२० सिट दाबी गर्ने बताएका थिए ।

उनले बुधबारसम्म सिट बाँडफाँटको टुंगो लगाइसक्ने पनि बताएका थिए । तर, दलहरूबीच सहमति जुट्न सकेको छैन । आआफ्नो अडान नछोड्दा पाँच दलीय सत्ता गठबन्धनलाई सिट बाँडफाँटमा झन् सकस परिरहेको छ । गठबन्धनमा शीर्ष तहमा पनि छलफल भइरहेको छ । यद्यपि, सहमति जुट्न भने सकेको छैन ।