चोलेन्द्रको बयान बारे ओलीले दिए यस्तो प्रतिक्रिया


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
3.4K
SHARES

१६ भदौ काठमाडौं । यसैबीच बिहीबार दुई घण्टा मात्रै बयान लिएपछि समिति बैठक भदौ १९ सम्मलाई स्थगित भएकोमा प्रमुख प्रतिपक्षी नेकपा एमाले शंका व्यक्त गरेको छ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका गरेका छन्।

बिहीबार गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनले राणाको बयान रोक्न सक्ने बताए। जबराले महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइदिएबापत लेनदेन भएको कुरा खुलाएका थिए।

त्यस्तै सर्वोच्च अदालतका न्यायाधीशहरू पनि मुद्दा छिनोफानोका क्रममा बिकेको बताएपछि बयान रोक्ने षड्यन्त्र भइरहेको ओलीले उल्लेख गरेका छन्।  ‘गठबन्धनले बयान रोक्न सक्छ, कहिले रोक्छ टुंगो छैन’, उनले भने, ‘उनीहरूको पोल खुल्ने भएपछि त्यसो गर्न सक्छन्।’

जबराले परमादेशबाट ओलीलाई सत्ताबाट हटाउँदा न्यायाधीशहरूलाई गठबन्धनका नेताहरूले आश्वासन दिएको खुलासा गरेका थिए।  चोलेन्द्रले बुधबार ४ वटा प्रश्नको जवाफ दिएका थिए। बिहीबार थप दुईवटाको दिएपछि ६ वटाको जवाफ सकिएको छ।