सम्मानजनक सिट बाँडफाँट हुनुपर्छ – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १७ २०७९
3.1K
SHARES

१७ भदौ कास्की। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक र सहमतिका साथ हुनुपर्ने बताएका छन्। पार्टी निकट नेपाल आदिवासी जनजाति महासङ्घ कास्कीको प्रथम भेलाको आज पोखरामा शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन्।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकी दिए। उनले भने, “सिट बाँडफाँट न्यायोचित र सहमतिका साथ हुनुपर्छ। आफ्नो पार्टी सकेसम्म सबैको सम्मान हुने गरी सहमति गर्ने गरी अघि बढेको छ।”

अध्यक्ष नेपालले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चालगायतका कम्युनिष्ट पार्टीसँग पार्टी एकताको कुराकानी र वार्ता संवाद चलिरहे पनि चुनाव अघि एकता नहुने स्पष्ट पारे।

चुनावी तालमेलपछि विचार मिल्दै गए, काम गर्ने सोच र दृष्टिकोण मिल्यो भने सबै आन्दोलनलाई एकताबद्ध बनाउने पक्षमा रहेको बताए। अध्यक्ष नेपालले गठबन्धनको मात्र भर नपरिकन आफ्नो जिल्ला र प्रदेशमा पार्टीको नीति प्रचारप्रसार गर्न र जनवर्गीय सङ्घ सङ्गठनको विस्तारमा ध्यान दिन आग्रह पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।