एमालेको आन्तरिक चुनावी प्रक्षेपण सार्वजनिक , यती क्षेत्रमा जित्ने
१७ भदौ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेको छ ।
बुधबार कञ्चनपुरको सभालाई सम्बोधन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले १५० सिट जित्ने दाबी गरे ।
एमाले अध्यक्ष ओलीले आन्तरिक मत विश्लेषणको आधारमा नै दाबी गरेको नेताहरु बताउँछन् ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा र त्यसपछि एमालेको पक्षमा देखिएको जनलहरका आधारमा पनि अहिलेको सत्ता गठबन्धनसँग प्रतिष्पर्धा गर्दा ३८ सिटमा जित निश्चित भएको एमालेको दाबी छ ।
स्थानीय तहको मत विश्लेषण गर्दा एमालेसँग अरु पार्टीभन्दा ३८ निर्वाचन क्षेत्रमा बढी मत रहेको दाबी छ । तर पाँच दलीय गठबन्धनमा रहेका दलहरूको मत जोड्दा भने एमालेको मत कम हुन्छ ।
तथापि, ३८ मध्ये ९० प्रतिशत मात्रै जिते पनि ३४ सिट प्राप्त गरिने एमालेको बुझाई छ । यो नेकपा एमालेको प्रभावशाली समूहले गरेको आन्तरिक अध्ययनपछि तयार पारिएको प्रतिवेदन हो । प्राप्त प्रक्षेपण प्रतिवेदनमा ३८ बाहेक ७० निर्वाचन क्षेत्रमा भने कडा प्रतिष्पर्धा हुने उसको आकलन छ ।
कडा प्रतिष्पर्धा हुने भनिएका ती क्षेत्रमध्ये ५० प्रतिशत (३५) सिट आफ्नो पक्षमा पर्ने एमालेको विश्लेषण छ ।
बाँकी रहेका ४७ निर्वाचन क्षेत्रमा भने सामान्य प्रतिष्पर्धा हुने र त्यसमा १० प्रतिशत मात्रै जित्दा ४/५ निर्वाचन क्षेत्रमा विजयी हुनसक्ने एमालेको आकलन छ ।
गठबन्धनमा रहेका दलहरू एमालेभन्दा मतका आधारमा ८८ निर्वाचन क्षेत्रमा अघि छन् ।
स्थानीय निर्वाचनमा पाएका पार्टीहरूको मतका आधारमा एमालेले अहिलेकै अवस्थामा कांग्रेसले ५ सिट, माओवादी केन्द्रले ३, नेमकिपा १ र नागरिक उन्मुक्ति पार्टीले १ सिट जित्ने दाबी गरेको छ ।
एमालेको विश्लेषणअनुसार गठबन्धनमा रहेको दल कांग्रेसको सर्लाही–२, काभ्रेपलाञ्चोक–१, काठमाडौं–१०, डोटी–१ र डडेलधुरा–१ मा जित निश्चित छ ।
नेकपा माओवादीले रोल्पा–१, रुकुम–(पूर्व) १, रुकुम– (पश्चिम) १ मा निश्चित जित्न सक्ने उसको आकलन छ । जहाँ अरु पार्टीको तुलनामा माओवादीको मत बढी छ ।
त्यसबाहेक ८० निर्वाचन क्षेत्रमा गठबन्धनको उमेदवार व्यवस्थापनमा समस्या हुने र त्यो उसलाई प्रत्युत्पादक बन्न सक्ने एमालेको आकलन छ ।
केही समयअघि नेकपा एमाले प्रवेश गरेका नेता प्रेमबहादुर सिंहलगायतका नेताले स्थानीय निर्वाचनमा वडाअध्यक्षले पाएको मत विश्लेषण गर्दै अध्यक्ष ओलीलगायत नेताहरूलाई ब्रिफिङ गरेका थिए । सोही मत विश्लेषणलाई एमालेले आधार बनाएको छ ।
सोही मत विश्लेषणका आधारमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेताहरु, पदाधिकारीले एमालेको बहुमत आउने दाबी गर्दै सम्बोधन गरिरहेका छन् ।
तर एमालेका सबै नेता भने यो विश्लेषण मान्न तयार छैनन् । गठबन्धनका अगाडि अहिलेकै अवस्थामा एमाले निकै कमजोर रहेको ती नेताको दाबी छ ।
प्रमुख सचेतक विशाल भट्टराई पनि आफूहरूले बहुमत ल्याउने भन्दै सोहीअनुसारको अंकगणित सुनाउँछन् । “हामीले स्थानीय तहमा पाएको वडाअध्यक्षको मत गन्दा ३८ निर्वाचन क्षेत्रमा अघि छौं । एमालेले ९ सिट मात्रै जित्ने भन्दै प्रचार भयो । त्यो गलत हो । ७० ठाउँमा कडा प्रतिष्पर्धा देखिन्छ,” उनले भने, “गठबन्धन नै भए पनि हामी ८० सिट प्रत्यक्षमा ल्याउछौँ । त्यसमा समानुपातिकसहित हिसाब गर्दा बहुमत आउँछ ।”
यी हुन् एमालेले जित निश्चित दाबी गरेका ३८ क्षेत्र
एमालेले निर्वाचन क्षेत्रमा आफू अघि रहेको क्षेत्रमा जित्ने दाबी गरेको छ ।
जसमा ताप्लेजुङ १, धनकुटा १, तेह्रथुम १, इलाम १, इलाम २, उदयपुर २, सुनसरी १, सुनसरी ३, झापा १, झापा २, झापा ४, झापा ५, काभ्रेपलाञ्चोक २ मा निश्चित रहेको ठहर गरेको छ ।
चितवन १, चितवन २, काठमाडौं २, काठमाडौं ४, काठमाडौं ५, काठमाडौं ९, लम्जुङ १, मनाङ १, मुस्ताङ १, पर्वत १ मा एमालेले सुरक्षित देखेको छ ।
बाग्लुङ १, बाग्लुङ २, नवलपरासी (पूर्व) २, कास्की २, कास्की ३, अर्घाखाँची १, प्युठान १, गुल्मी १, गुल्मी २, पाल्पा १, पाल्पा २, दाङ २, बझाङ १, बाजुरा १ र दार्चुला १ मा पनि आफ्ना उमेदवार विजयी हुने एमालेको दाबी छ ।