अखिल (क्रान्तिकारी) ले ‘रिभोलुसनरी फोर्स’ गठन गर्दै
१८ भदौ काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले पनि ‘रिभोलुसनरी फोर्स’ गठन गर्ने भएको छ । पवन कार्की नेतृत्वको संगठनले समानान्तर फोर्स गठन गर्न लागेको हो । पवन कार्की नेतृत्वको अनेरास्ववियुले २१ भदौमा रिभोलुसनरी फोर्स गठन गर्ने घोषणा गरेको छ ।
‘भ्रष्ट, दलाल र माफियाहरुका विरुद्ध लड्ने क्रान्तिकारी योद्धा हौँ हामी’ भन्ने नाराका साथ २१ भदौमा फोर्स गठन हुने एक सदस्यले बताए । ‘माइतीघर मण्डलाबाट बानेश्वरसम्म मार्चपास गरेर फोर्स गठन गर्ने तयारी गरेका छौँ’ ती सदस्यले भने रिभोलुसनरी फोर्सको पदाधिकारी वा कार्यालय टिमको रूपमा हाललाई १ संयोजक र १० जना सहसंयोजक गरी ११ जना रहने छन् । जसमा सबै प्रदेशबाट एकएक जना विश्वविद्यालय र सिटिइभिटीईबाट १ जना र पछि मनोनीत १ जना गरि १० जना सहसंयोजक हुने छन् ।
केन्द्रीय रिभोलुसनरी फोर्स १५१ सदस्यीय रहनेछ । सबै प्रदेशरराष्ट्रिय समितिमा ९९ सदस्यीय, जिल्लामा समन्वय समितिमा ५१ र पालिका र क्याम्पस समितिमा २५ सदस्यीय रिभोलुसनरी फोर्सको गठन हुने अनेरास्ववियू क्रान्तिकारीका प्रवक्ता उपदेश यादवले यादवले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन यति बेला दुई गुटमा विभाजन मात्र भएको छैन देशैभरी समानान्तर कमिटी गरेर अलग अलग रूपमा अगाडि बढिरहेको छ ।