एमाले दाँत भएजस्तो डस्न तयार हुनुपर्छ – अध्यक्ष ओली
१८ भदौ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत हुन भनेका हुन् ।
सुनसरी क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताए । उनले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गरे ।
यसभन्दा अगाडि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर, हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ,” उनले भने, “म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईंहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईंहरुले राष्ट्रसेवको हैसियतमा निष्पक्ष भुमिका खेल्नुपर्दछ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मच्चाउने लगायतका काम हुने छैनन् ।”
अध्यक्ष ओलीले नेकपा एमाले गड्यौलाजस्तो नभएको भन्दै दुईवटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताए । बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन उनको निर्देशन छ ।
नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यक्ता रहेको जिकिर गर्दै गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाए । उनले अघिल्लो सरकारले ल्याएका आयोजनाहरु कटौती गरेर बेहाल बनाएको टिप्पणी गरे ।