तीन/चार वर्षभित्रमा ठूलो उथलपुथल हुने देख्छु – नेता भुसाल


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
1.8K
SHARES

१९ भदौ काठमाडौं।  नेकपा (एमाले)का नेता घनश्याम भुसालले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नै वाममोर्चा बनाउन नसक्नु मुलुकका लागि ठूलो दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।

कम्युनिस्टहरूबीच मोर्चाबन्दी गरेर अघि नबढे अबका तीन/चार वर्षभित्रै मुलुकमा राजनीतिक उथलपुथल हुने र त्यसबाट कम्युनिस्टहरूले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी थियो ।

आइतबार काठमाडौंमा आयोजित एक विचार गोष्ठीमा उनले अहिले देखापरेको राजनीतिप्रतिको वितृष्णा, सत्ताप्रतिको वितृष्णा र दलहरूभित्रै रहेको उकुसमुकसलाई नजरअन्दाज नगर्न पनि राजनीतिक नेतृत्वलाई सचेत गराए ।

मुलुकलाई राजनीतिक संकटबाट रोक्ने हो भने वामपन्थीहरूबीच एकता गरेर अघि बढ्नुपर्ने उनले दोहोर्‍याए । तत्कालीन नेकपालाई फुटाएर प्रचण्डलगायत नेताहरूले दुुनियाँसामु नेपालको बेइज्जत गरेको उनको भनाइ छ ।

उनले मञ्चमै रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई क्रमभंग गरेर भए पनि कम्युनिस्टहरूबीच एकता गर्न ढिलाइ नगर्न आग्रह गरे ।

“…यो सुरु भएको छ है, राजनीतिप्रति वितृष्णा, सत्ताकाप्रति वितृष्णा । राज्यको प्रतिको घृणा । यो चानेचुने कुरा छैन । यो दुई/चारवटा स्वतन्त्र आए मात्रै नभन्नुस् । स्वयं राजनीतिक पार्टीहरूभित्र आज यो उकुसमुकुस जुन छ, यो कुरालाई कसैले नजर अन्दाज नगरौँ,” उनले भने, “म आगामी तीन/चार वर्षभित्रमा एउटा ठूलो उथलपुथल देख्छु, यो क्षितिजमा । त्यसले कम्तीमा आजको राजनीतिको नीतिहीनता, विचारहीनता, मनपरीतन्त्र कम्तीमा यतिचाहिँ लैजान्छ । त्योचाहिँ राम्रै हुनेछ । तर, राजनीतिले त्योभन्दा धेरै कुरा हामीबाट लिन्छ । आज बाँचेका, हामी राजनीति गरेका, सत्तामा रहेकाहरूले यसको जवाफ दिनुपर्ने हुनेछ ।”

उनले थपे, “हामीसँग राजनीतिले ठूलो मूल्य लिँदै छ । कमरेड प्रचण्ड र अरू नेताहरू, हामी सबै यसलाई कसरी रोक्ने हो ? यदि, हामीले त्यो एकता नभत्काएको भए, संसद् विघटन गरेर यो दुनियाँका अगाडि बेइज्जती नगरेको भए यस्ता संकट थाम्ने नेपाली राजनीति बनेको थियो । अर्थनीति बन्दै थियो ।”

उनी भन्छन्, “यो चुनावभन्दा अगाडि नै हामीले वाममोर्चा बनाउन सक्नुपर्थ्यो । दुर्भाग्य हो । ठूलो दुर्भाग्य हो । मैले पटक–पटक भनेको छु–पहिलो ठूलो दुर्भाग्य, पहिलो ठूलो पार्टी कम्युनिस्ट, तेस्रो ठूलो पार्टी कम्युनिस्ट, चौथो ठूलो पार्टी, पाँचौँ कम्युनिस्ट, सातौँ कम्युनिस्ट, आठौँ कम्युनिस्ट, सबै कम्युनिस्ट । आज हालत के भइराखेको छ ? कारण धेरै छन् । बाहिरबाट हेर्दा त मान्छेले के देख्ने भो भने समाजवाद ल्याउन के गर्नुपर्दो रहेछ भने भएकै संसद विघटन गर्नुपर्दो रहेछ । पार्टी फुटाउनपर्दो रहेछ । बाहिर बसेकोहरूले के, यो सारा बेइज्जती काम गर्नुपर्दो रहेछ ।

कमरेड प्रचण्ड, पटक–पटक तपाईंले भन्नुभएको छ– क्रमभंगता । अब यो क्रमभंगता फेरि जरुरी भयो मुलुकमा चाहिँ । ठूलो राजनीतिक उथलपुथल देख्छु, मुलुकमा । त्यसलाई कमजोर नआँक्न आग्रह गर्दछु । यो नीतिहीनता, विचारहीनता, मनपरी तन्त्र कम्तीमा योचाहिँ लैजान्छ र त्यो राम्रै हुन्छ ।” नेता भुसालले संसद् विघटन गरेर सुरु भएको नेपालको राजनीतिक संकट नेताहरू नमिल्ने हो भने झन् गहिरिएर जाने समेत बताए ।